Menu

आजको मौसम

देशभर पानी परीक्षणका लागि टोली खटाउन खानेपानी मन्त्री यादवको निर्देशन

Author
News Desk | September 30, 2024
0

काठमाडौँ, १४ असोज (रासस)
खानेपानीमन्त्री प्रदीप यादवले पानीबाट विभिन्न रोग फैलिन सक्ने भएकाले देशभर पानी परीक्षणका लागि प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ ।
अविरल वर्षाका कारण आएको बाढीपहिरोले खानेपानीका मुहानमा बाढी एवं ढल पसेकाले पानीबाट विभिन्न रोग फैलन सक्नेतर्फ ध्यान दिँदै पानी परीक्षणका लागि प्राविधिक टोली खटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।
उहाँले बाढीका कारण देशभर पानीका मुहानमा क्षति हुनुका साथै मुहानमा धमिलो पानी छिरेकाले पानी शुद्धिकरणका लागि आवश्यक “ब्लिचिङ पाउडर”, पीयूष, “एक्वा ट्याब” वितरण गर्न निर्देशन दिनुभएको मन्त्री यादवका निजी सचिव भक्तराज जोशीले जानकारी दिनुभयो ।
मन्त्री यादवको निर्देशनमा खानेपानी तथा ढल व्यवस्थापन विभाग गुणस्तर सुधार तथा सेवा नियमन शाखाको समन्वय र सहजीकरणमा काठमाडौँका विभिन्न ठाउँमा ब्लिचिङ पाउडर, पियूष, एक्वा ट्याब वितरण थालिएको खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख पूर्णप्रसाद उपाध्यायले बताउनुभयो ।
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको अनुगमन तथा निरीक्षण गर्नु भई मन्त्री यादवले पानीको धमिलोपन कम भएपछि प्रशोधन प्रक्रिया पुनः सञ्चालन गरी काठमाडौँका पानी ट्याङ्कीमा खानेपानी आपूर्ति गर्न निर्देशन दिनुभयो । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा बागमती नदीको पानीमा बढेको धमिलोपनका कारण प्रशोधन प्रक्रिया अवरुद्ध भएको थियो ।
बाढीले गर्दा कीर्तिपुरस्थित सुन्दरीघाटको “इलेक्ट्रोमेकानिकल” शाखामा रहेका महत्वपूर्ण उपकरण डुबेर क्षति पुगेको छ । मन्त्रालयको प्रारम्भिक आँकलन अनुसार, बाढीले रु एक अर्ब भन्दा बढीको सम्पत्तिमा क्षति पु–याएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?