Menu

आजको मौसम

मेयर माथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै जसपाले बुझायो ज्ञापन

Author
News Desk | October 09, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ असोज ।
जनता समाजवादी पार्टीले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह माथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
जसपाको वीरगंज महानगर कार्य समितिका अध्यक्ष इश्वरचन्द्र यादवको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ज्ञापन पत्र बुझाउदै मेयर माथि दुर्व्यवहार गर्ने शिव ओम लामिछाने र उनका छोरा सुदर्शन लामिछानेलाई कारबाही गर्न माग गरेको हो ।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै महानगर अध्यक्ष यादवले मेयर सिंह माथि दुर्व्यवहार गर्ने दुबैलाई तत्काल नियन्त्रणमा लिएर कारबाही नगरे आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका हुन ।
हालै आएको अविरल वर्षापछि वीरगंज महानगरपालिका वडा नं. १७, २०, २४ र २६ को दर्जनौं घरसहित सयौं विघा जग्गामा लगाइएको धानबाली डुबानमा पर्दा आफूहरुको जनजीवन नै अस्तव्यस्त बनाएको भन्दै स्थानीयले उद्धारका लागि निवेदन दिएपछि मेयर सिंह प्राविधिक टोलीसहित सोमबार उक्त क्षेत्रमा पुगेका थिए ।
सम्बन्धित वडा अध्यक्षमार्फत समस्या समाधानको प्रयास भए पनि निकास ननिस्किए पछि प्राविधिक सहित स्थलगत अवलोकनमा पुगेका बेला मेयर सिंह माथि वडा नं. १७ अलौमा लामिछानेद्वयले दुर्व्यवहारको प्रयास गरेका थिए ।
ज्ञापन पत्र मार्फत मेयर माथि दुर्व्यवहारको प्रयास गर्नु निन्दनीय र अराजक रहेको भएको भन्दै उनीहरुलाई कारबाही गरी त्यस क्षेत्रका डुबान पीडित नागरिकको समस्या तत्काल समाधान गर्न ज्ञापन पत्र मार्फत प्रमुख जिल्ला अधिकारीसंग आग्रह गरिएको छ ।
ज्ञापन पत्रमा पानी निकासको विषयलाई अहिले राजनीतिक रंग दिन खोजिएको भन्दै आपत्ति समेत जनाएको छ । साथै घटनाको बारेमा यथार्थ नबुझी गाउलेलाई डुबानमै राखिरहने राजनीति भएको भन्दै महानगर अध्यक्ष यादबले पार्टीले त्यसको भण्डाफोर गरेर गाउलेलाई डुबानबाट बचाउन आफूहरु लागि पर्ने पनि बताएका छन ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुषालले घटनाको बारेमा यथार्थ बुझेर कारबाही गर्न आफू तयार रहेको प्रतिकृया दिए । उनले त्यस क्षेत्रका नागरिक डुबानबाट वास्तवमै पीडित रहेको र आफूहरुकोमा पनि निवेदन दिएको बताउदै डुबानबाट बचाउन सबै लाग्नु पर्नेमा जोड दिए ।
ज्ञापन पत्र बुझाउन जसपा नगर अध्यक्ष यादवको नेतृत्वमा उमेशलाल सहनी, तुफान अन्सारी, मुस्तकिम अन्सारी, कलाम मियाँ, नुर आलम अन्सारी, विष्णु पटेल, वकिल मियाँ, हरेन्द्र साह, दिपु वर्मा, संगिता दास लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?