Menu

आजको मौसम

गढीमाईको पञ्चवर्षीय मेलामा खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवको निर्देशन

Author
News Desk | October 19, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ कार्तिक ।
संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले बारा जिल्ला स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलामा आउने भक्तजनहरुका लागि शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न कर्मचारीलाई विशेष निर्देशन दिनुभएको छ ।
बारा जिल्ला स्थित महागढिमाई नगरपालिका स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा मंसिरको दोस्रो सातादेखि पञ्चवर्षीय मेला लाग्दै छ , त्यहां आउने भक्तजनहरुका लागि शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
शनिवार बिहान गढीमाई मन्दिरमा पूजा गर्न पुग्नु भएका मन्त्री यादवले मेला व्यवस्थापनका लागि भइरहेको तयारीको स्थलगत अवलोकन गर्दै स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूसंग छलफल गर्नुभएको छ । सोही क्रममा उहाले गढीमाई मेलामा आउने श्रद्धालुहरूको सुविधाका लागि शुद्ध खानेपानी र शौचालयको उचित व्यवस्था गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको हो ।
उहाले गत वर्षको पञ्चवर्षीय मेलामा खानेपानी र शौचालयको अभावका कारण भक्तहरूले धेरै समस्याको सामना गर्नुपरेको थियो । यसपालि त्यस्ता समस्याहरू आउन नदिन हामीले समयमै समुचित प्रबन्ध गर्नुपर्छ भन्नु भयो ।
मन्त्री यादवले गढीमाई मेला अवधिभर मन्त्रालयका कर्मचारीलाई पानीको शुद्धता मापन यन्त्र जडान गर्न र त्यसको सञ्चालन र व्यवस्थापन गर्न पनि निर्देशन दिनुभयो ।
उहाले प्रदेश सरकारका प्रतिनिधिहरूलाई बरियारपुर क्षेत्रमा विभिन्न स्थानमा डीप बोरिङ जडान गर्नका लागि पनि निर्देशित गर्नुभएको छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद समेत रहनुभएका मन्त्री यादवले गढीमाई मन्दिर र मेला मधेसको लागि मात्र नभइ नेपालका लागि महत्वपूर्ण पहिचान भएको बताउदै यस क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।
उहाले यस क्षेत्रको संस्कृति, परम्परा र धार्मिक आस्थाले यसलाई पर्यटकीय दृष्टिले महत्वपूर्ण बनाउछ । यसलाई प्रवर्द्धन गर्न हामीले विशेष ध्यान दिन आवश्यक छ भन्नु भयो ।
छलफलमा सहभागीहरुले गढीमाई मेला व्यवस्थापनमा सरकारको सक्रियता र सहयोगको महत्वलाई स्वीकार गर्दै मेलामा स्थानीय समुदायको विकास र समृद्धिमा थप ध्यान दिनुपर्नैमा जोड दिएका थिए ।
सो अवसरमा मन्त्री यादवले गढीमाई मन्दिर र मेला क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि तिनै तहका सरकारबिच सहकार्य आवश्यक रहेको बताउदै समग्र समाजको विकासका लागि एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा पूर्व मन्त्री एवम् बारा क्षेत्र नम्बर ४ का सांसद कृष्ण कुमार श्रेष्ठ (किसान), पूर्व सांसद प्रमोद गुप्ता, गढीमाई मेला मूल आयोजक समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादव, जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, मेला आयोजक समितिका पदाधिकारीहरू लगायत स्थानीय अगुवाहरूको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?