Menu

आजको मौसम

सामुदायिक वनका अध्यक्ष विकको घरबाट हरिणको मासु बरामद

Author
News Desk | October 24, 2024
0

सहारा संवाददाता–––––––––––––––
मलंगवा, ०८ कार्तिक ।
सर्लाही जिल्ला स्थित हरिपुर नगरपालिका वडा नं. १ जानकीनगर नाखा टोलबाट भरुवा बन्दुक र हरिणको मासु बरामद भएको छ ।
विशेष सुचनाको आधारमा डिभिजन वन कार्यालय सर्लाहीबाट खटिएको टोलीले बिहीबार हरिपुर नगरपालिका वडा नं. १ स्थित जानकी सामुदायिक वनका अध्यक्ष दिनेश विक र हरिनारायण महराको घरबाट हरिणको मासु बरामद गरेको हो ।
वनकर्मीले सामुदायिक वनका अध्यक्ष विकको घरबाट दुई किलो र महराको घरबाट १३ किलो हरिणको मासु बरामद भएको डिभिजन वन अधिकृत सन्तोषकुमार झाले जानकारी दिनुभयो ।
हरिणको मासु बरामद भएको घरधनी विक र महरा भने फरार रहेको बताइएको छ । मासु बरामद भए पछि उनीहरुको घर खानतलासी गर्दा महराको बारीमा लुकाइ राखिएको अवस्थामा पेशेवर सिकारीले प्रयोग गर्ने टाढासम्म उज्यालो फाल्ने “टर्च लाइट” फिट गरिएको एक थान भरुवा बन्दुक, सो बन्दुकमा प्रयोग हुने नाल र एक थान खुकुरी बरामद भएको अधिकृत झाले जानकारी दिनु भयो ।
वनकर्मीले बरामद गरेको हरिणको मासु जनप्रतिनिधि, सञ्चारकमी लगायतको उपस्थितीमा वन कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ भने हतियार बारे थप अनुसन्धान भइरहेको अधिकृत झाले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?