
वीरगञ्ज, ७ जेठ । चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको फैसला कार्यान्वयन टोलीले फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १४ पिपरा टोलमा लुकिछिपि बसिरहेको अवस्थामा सोही स्थानका २७ वर्षीय रोशन पटेललाई जेठ ६ गते राति अन्दाजी ९:१० बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत पर्साको फैसलाले पटेललाई चोरी मुद्दामा ४ महिना कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो । फैसला पश्चात् फरार रहँदै आएका उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो ।