
सहारा संवाददाता–––––––––––––––
वीरगंज, ८ जेठ ।
पटक–पटक गलत रिपोर्ट दिएर विवादमा तानिंदै आएका डा. मनोज रुँगटाले पुनः एक बालकको एमआरआई गरेर रिपोर्ट अर्कैको दिएर विवादमा आएका छन् ।
डा. रामाशीष ठाकुरको सिफारिसमा बारा जिल्लाका १७ वर्षीय बालक सक्षम सौर्यको ढाडको एमआरआई गरेर दिएको रिपोर्ट अर्कैको हुनुको साथै तीन वर्ष पुरानो दिएको पीडित परिवारले आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय, पर्सामा उजूरी दिएका छन् ।
डा. रुँगटाले आफ्नो मेडिस्क्यान प्रालिमा २०८३ वैशाख ३१ गते सक्षम सौर्यको ढाडको एमआरआई गरेका थिए । दुई पेजको एमआरआई रिपोर्टको पहिलो पानामा बिरामीको नाम सक्ष्Fम सौर्य नै रहेको भए पनि दोस्रो पानामा बिरामीको नाम आशा देवी उल्लेख रहेको छ ।
त्यसैगरी नेपाली मिति २०८०।०४।१४ उल्लेख गरेका छन् भने अंग्रेजी मिति सन् २०२३।०७।३० उल्लेख गरी रिपोर्ट दिएपछि बिरामीका परिवार अलमलमा परेका छन् ।
उनीहरुले रिपोर्ट कसको हो, कुन मितिको हो, कसरी थाहा पाउने ? भनी गुनासो गर्न जाँदा डा. रुँगटाले सामान्य त्रुटि भएको भन्दै हप्काएर पठाएपछि पीडित परिवार जिल्ला प्रशासन कार्यालय, पर्सामा उजूरी दिएका हुन् ।
सक्ष्Fम सौर्यका परिवारले दिएको उजूरी उपर तोक लगाएर आवश्यक अनुसन्धान गर्न मुद्दा शाखामा पठाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो । उहाँले अनुसन्धान भएपछि थप केही भन्न सकिने बताउनुभयो ।
स्मरण रहोस्, डा. मनोज रुँगटाको यसअघि पनि कैयौंपटक गलत रिपोर्ट दिंदा विवादमा पर्दै आएका छन् ।