
वीरगंज, ९ जेठ ।
कुम्हालटोल प्रिमियर लिग शनिवार आदर्शनगर रंगशालामा शुरु भएको छ ।
उदघाटन खेल रोको गोल्ड्स विरूद्ध कुम्हालटोल वारियर्सबीच सम्पन्न भएको थियो। टस जितेर रोको रोयल्सले फिल्डिङ रोजेपछि कुम्हालटोल वारियर्सले पहिले ब्याटिङ गर्दै १२३ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको रोको रोयल्सले लक्ष्य पूरा गर्न नसक्दा कुम्हाल टोल वारियर्स विजयी बनेको हो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सन्तोष पटेल “म्यान अफ द म्याच” घोषित हुनुभयो।
युवाहरूमा खेलप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उदघाटन कार्यक्रममा प्रमुख अतिथि वडा नं. ५ का कार्यवाहक अध्यक्ष मनोज साह, वरिष्ठ अतिथि मास्कट एकेडेमीका विजय साह, नेपाली कांग्रेसका वडा इकाइ का सभापति अशोक जोशी, युवा नेता विश्वेश्वर मुखिया, वडा नं. ५ का सन्तोष खनाल, नेपाल प्रहरीका प्रतिनिधिहरू, नेपाल क्रिकेट संघ पर्सा कमिटी सदस्य दिनेश मुखिया, आकाश कुमार पटेल, प्रज्वल डंगोललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सोनु पटेलले गर्नुभएको थियो।
सञ्चालक टिमका सन्तोष पटेलले खाँदा लगाई सहभागीहरुको सम्मान गर्नुभएको थियो। उदघाटन कार्यक्रममा बोल्दै मास्कट एकेडेमीका सञ्चालक विजय साहले खेलाडीहरूलाई उत्साह, अनुशासन र मेहनतका साथ खेल क्षेत्रमा अगाडि बढ्न प्रेरणा दिनुभयो। त्यसैगरी वडा नं. ५ का कार्यवाहक अध्यक्ष मनोज साहले खेलाडीहरूको जोश, उत्साह र मेहनत देखेर आफू निकै प्रभावित भएको बताउँदै भविष्यमा यिनै खेलाडीहरूले नेपाल टिममा पहिचान बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो।