
वीरगञ्ज, ५ जेठ । पर्साको वीरगञ्ज महानगरपालिकामा एक वृद्ध महिलालाई बोक्सीको आरोप लगाउँदै गालीगलौज तथा कुटपिट गरेको अभियोगमा प्रहरीले तीन जना महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. ३२ चोर्नी बस्ने ७२ वर्षीया कोशिलिया अहिरिनलाई बोक्सीको आरोप लगाई कुटपिट गरिएको हो । उक्त घटनामा संलग्न रहेको आरोपमा सोही स्थान बस्ने ३८ वर्षीया पिंकी देवी, ४४ वर्षीया पानामति देवी र ५४ वर्षीया शान्ति देवी धानुकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत फागुन २७ गते बिहान ११:३० बजेको समयमा पीडित कोशिलिया अहिरिन चोर्नी टोलस्थित गहुँ बारीमा बाली हेर्न गएकी थिइन् । सोही क्रममा २८ वर्षीया मुनती देवी समेतले उनलाई बाटो छेकेर, झुक्यानमा पारी “एकछिन काम छ” भन्दै जबरजस्ती आफ्नो घरआँगनमा पुर्याएका थिए । त्यहाँ उनीहरूले “मलाई किन भुत-प्रेत लगाई बिरामी पारेको?” भन्दै गालीगलौज गर्नुका साथै चप्पलले कुटपिट गरेको व्यहोरासहित पीडितले प्रहरीमा जाहेरी दरखास्त दिएकी थिइन् ।
जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा ती तीनै जना आरोपीहरूलाई वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर क्षेत्रमा घुमफिर गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूमाथि बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ अन्तर्गत पर्सा जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो ।