
जनकपुरधाम, १२ जेठ ।
मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मौजुदा मन्त्रिपरिषद्को पुनर्गठन गर्नुभएको छ।
मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम कार्यविभाजन सहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। नवगठित मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित १३ सदस्यीय टोलीले कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पुनर्गठित मन्त्रिपरिषद् अनुसार मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र माननीय मोहम्मद समिरले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ। त्यसैगरी अर्थ मन्त्रालयको जिम्मेवारी युवराज भट्टराईलाई सुम्पिइएको छ भने खेलकुद तथा समाज कल्याण मन्त्रालयको कार्यभार माननीय लखन दास तत्माले सम्हाल्नुहुने भएको छ। वन तथा वातावरण मन्त्रालयमा शंकार प्रसाद चौधरी, श्रम तथा यातायात मन्त्रालयमा शारदा देवी थापा र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा कनिजा पटेल नियुक्त हुनुभएको छ।
यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी श्याम प्रसाद पटेललाई दिइएको छ भने ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयको कार्यभार जवाहर लाल कुशवाहाले प्राप्त गर्नुभएको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी फकिरा महतो, शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी मनोज कुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार नागेन्द्र साहलाई तोकिएको छ।
मन्त्रिपरिषद् पुनर्गठन लगत्तै आजै प्रदेश प्रमुखको कार्यालयमा एक विशेष समारोह आयोजना गरिएको थियो। उक्त समारोहमा माननीय प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णज्यू समक्ष नवनियुक्त माननीय मन्त्रीहरूले आफ्नो पद तथा गोपनीयताको पदभार ग्रहण गर्दै ईश्वर, देश र जनताका नाममा शपथ लिनुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता विष्णु देव साहले जानकारी दिनुभएको छ।