
कलैया, ११ जेठ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ कचोर्वा नयाँ बजार क्षेत्रबाट सशस्त्र प्रहरी र प्रहरी टोलीले भन्सार छली अवैध रूपमा ल्याउँदै गरेको ठूूलो परिमाणको केरा र एउटा पिकअप गाडीसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी कचोर्वा बाराबाट प्रहरी नायब निरीक्षक देव बहादुर विष्टको कमाण्डमा खटिएको गस्ती टोलीले जेठ १० गते बिहान ०५ः३० बजेको समयमा शङ्कास्पद रूपमा गुडिरहेको बा.प्र. ०१–०३० च ७११० नम्बरको पिकअप गाडीलाई रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा उक्त पिकअप भित्र अवैध रूपमा भन्सार छली ल्याइएका १५४ कार्टुन केरा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएको सामान र सवारी साधनको मूल्याङ्कन केराको अनुमानित मूल्यः रू. एक लाख चौवन हजार र पिकअप गाडीको अनुमानित मूल्यः सात लाख गरी जम्मा मूल्याङ्कन आठ लाख चौवन हजार गरिएको छ ।
अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा पिकअप चालक र सह–चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका वडा नम्बर ५ बस्ने १९ वर्षीय विश्वराज खड्का (चालक) र सर्लाही जिल्ला धनकौल गाउँपालिका वडा नम्बर १ रामनगर बस्ने २२ वर्षीय सुनिल प्रसाद कुशवाहा (सहचालक) रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरू, बरामद केरा र पिकअप गाडीलाई आवश्यक कारबाहीका लागि पर्सा भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिनुभएको छ।