Menu

आजको मौसम

पर्सा प्रहरीको जेष्ठ महिनाको समीक्षा: १५१ मुद्दा दर्ता

Author
News Desk | June 18, 2026
0
Featured

वीरगंज, २ असार । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८२/०८३ को जेष्ठ महिनामा सम्पादित विभिन्न सचेतनामूलक, अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सम्बन्धी कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (DSP) हरि बहादुर बस्नेतका अनुसार जेष्ठ महिनाभर जिल्लामा कुल १५१ वटा विभिन्न मुद्दाहरू दर्ता भई कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

दर्ता भएका मुद्दाहरूमध्ये सबैभन्दा बढी आर्थिक तथा संगठित अपराधका ४७ वटा र सामाजिक अपराधका ४६ वटा रहेका छन् । यसैगरी चोरी सम्बन्धी १०, आत्महत्याका ९, महिला तथा बालबालिका सम्बन्धी १२, सवारी ज्यानका २ र कर्तव्य ज्यानको १ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जघन्य तथा गम्भीर अपराध तर्फ बैंकिङ कसूरका ३० र ठगीका १३ वटा मुद्दा दर्ता भएका छन्

फरार प्रतिवादी पक्राउ र राजश्व संकलनमा तीव्रता

पर्सा प्रहरीले जेष्ठ महिनामा अदालतबाट सजाय र जरिवाना तोकिएर फरार रहेका १५८ जना प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको छ । उनीहरूबाट कुल १९ वर्ष ३ महिना २४ दिन कैद भुक्तानी र ८ लाख ३ हजार ८२३ रुपैयाँ जरिवाना असुल गरिएको छ । यसैगरी, चालु मुद्दाका ९६ जना प्रतिवादीहरूलाई समेत नियन्त्रणमा लिइएको छ

राजश्व चुहावट तथा अवैध भन्सार छली नियन्त्रणतर्फ पनि प्रहरीले ठूलो सफलता हात पारेको छ । जेष्ठ महिनामा अवैध भन्सार छलीका सामानसहित १ जनालाई पक्राउ गरी ४ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको छ भने राजश्व छली तर्फ २ करोड २३ लाख २२ हजार ७२० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ । त्यस्तै, प्राकृतिक सम्पदा दोहन नियन्त्रण अन्तर्गत १७ वटा ट्याक्टर र २ वटा टिपर नियन्त्रणमा लिएर ९५ हजार रुपैयाँ दण्ड जरिवाना असुल गरिएको छ भने अवैध वन पैदावार चोरी पैठारीतर्फ ३५ क्युबिक फिट सालको काठ र १० वटा साइकलसहित २ जनालाई पक्राउ गरी २ लाख ८० हजार रुपैयाँ राजश्व जरिवाना गरिएको विज्ञप्तिमा उल्लेख छ

शान्ति सुरक्षा, ट्राफिक र विपद् व्यवस्थापन

महिनाभर जिल्लामा ४५ वटा सवारी दुर्घटनाहरू भएका छन्, जसमा परी २ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । दुर्घटनामा संलग्न ५० जनाकै प्रहरीले उद्धार गरेको थियो । ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ३८६ वटा सवारी साधनलाई कारबाही गरी १५ लाख ९३ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ । दुर्घटनाको कारण विश्लेषण गर्दा ३१ वटा दुर्घटना सवारी साधनको कारण र १३ वटा अन्य कारणले भएको देखिएको छ

विपद् व्यवस्थापनतर्फ जेष्ठ महिनामा ३ वटा आगलागीका घटनामा परी २२ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने प्रहरीले ६ जनाको उद्धार गरेको छ । यस्तै, पानी (बाल्टिन) मा डुबेर १ जना बालकको मृत्यु भएको छ । अवैध मदिरा नियन्त्रणतर्फ प्रहरीले २५० लि. तयारी मदिरा र ५०० लिटर कच्चा पदार्थ बरामद गरी २ वटा भट्टीहरू नष्ट गरेको छ । लागूऔषध नियन्त्रणतर्फ ९ वटा मुद्दा दर्ता गरी ११ जनालाई पक्राउ गरिएको छ, जसको साथबाट १११ केजी गाँजा, २१ ग्राम ९३ मिलिग्राम ब्राउन सुगर र ५२ ट्याब्लेट नाइट्राजेपाम बरामद गरिएको छ

घरेलु हिंसा र ठाडो उजुरीको शतप्रतिशत फछ्र्योट

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ परेका कुल ७० वटा उजुरीहरूमध्ये अधिकांश १९ देखि २५ वर्ष उमेर समूहका पिडित रहेका छन् । यस्तै, विभिन्न स्थानीय तहबाट परेका ७० वटा घरेलु हिंसाका उजुरीहरू (जसमा वीरगञ्ज महानगरपालिकाका मात्रै ४० वटा छन्) सबै मिलापत्र मार्फत शतप्रतिशत फछ्र्योट गरिएको छ । हराएका ३२ जना नागरिकहरूमध्ये २८ जनालाई फेला पार्न प्रहरी सफल भएको छ

यसैगरी प्रहरी कार्यालयमा प्रत्यक्ष तथा जिल्ला प्रशासन कार्यालय मार्फत आएका कुल ४२३ वटा ठाडो उजुरीहरूलाई प्रहरीले शतप्रतिशत फछ्र्योट गरेको छ । महिनाभर प्रहरीको हटलाइन र डी.ओ. को सम्पर्क नम्बरमा १६ हजार १३० वटा कलहरू आएका थिए भने नागरिक सहायता कक्ष मार्फत ४ हजार ३२० जना सेवाग्राहीहरूले सेवा लिएका छन्

समुदाय केन्द्रित सचेतना र कर्मचारी मनोबल

अपराध न्यूनीकरणका लागि पर्सा प्रहरीले प्रविधिको उच्च प्रयोग (CCTV, डिजिटल निगरानी), सामाजिक सञ्जाल अनुगमन र सीमानाकामा चेकजाँचमा कडाइ गरेको छ । जेष्ठ महिनामा समुदाय र विद्यालय केन्द्रित गरी कुल २३२ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन्, जसबाट ६ हजार ८०४ जना नागरिक तथा विद्यार्थीहरू लाभान्वित भएका छन् । यी कार्यक्रमहरू मुख्य गरी लागूऔषध, आत्महत्या, जातीय भेदभाव, साइबर अपराध र बालविवाह विरुद्ध केन्द्रित थिए

प्रहरी कर्मचारीहरूको कार्यक्षमता र मनोबल बढाउनका लागि इन्टरनेटको सहज पहुँच, जन्मदिनमा सामूहिक केक काट्ने व्यवस्था, योगाभ्यास, र रोटेशनका आधारमा ‘मासिक रूपमा साथमा खाना साथमा शक्ति’ जस्ता सिर्जनशील कार्यक्रमहरू समेत सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?