Menu

आजको मौसम

मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक

Author
News Desk | June 20, 2026
0
Featured

जनकपुरधाम, ५ असार/रासस
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज बिहान जनकपुरधाम स्थित जानकी मन्दिर परिसरमा आयोजित योग कार्यक्रममा उहाँले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने बताउँदै मुख्यमन्त्री यादवले कार्यव्यस्थताका बाबजुद मानवले स्वस्थ्य रहन दैनिक योग गर्नुपर्ने धारणा राख्नुभयो । “स्वास्थ्य महŒवपुर्ण विषय हो”, उहाँले भन्नुभयो, “स्वस्थ रहन योग आवश्यक छ, त्यसैले नियमित योग गरौँ र निरोग रहौँ ।” योग गर्दा स्वस्थसँगै सोच र विचारमा पनि परिवर्तन आउने उहाँको भनाइ छ ।
मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले निरोगी रहन नियमित योगाभ्यास आवश्यक रहेको उल्लेख गर्दै योगाभ्यासको शिक्षालाई समुदायस्तरसम्म फैलाउनुपर्नेमा जोड दिनुभयो ।
पर्साको वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास र पतञ्जली योग समिति मधेस प्रदेश समितिद्वारा आयोजित योगाभ्यास कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सदस्य, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार चौधरीलगायतको उपस्थिति थियो ।
यस वर्षको अन्तर्राष्ट्रिय योग दिवस स्वस्थ आयुका लागि योग भन्ने मूल नारासहित मनाइँदै छ ।
महावाणिज्य दूतावासले आफ्नो कन्सुलर क्षेत्र भित्र आयोजना गरिरहेको योग उत्सवहरूको शृंखलामा यो पाँचौँ कार्यक्रम रहेको जनाएको छ ।
सो अवसरमा बोल्दै महावाणिज्य दूत देवी सहाय मीनाले दीर्घकालीन स्वास्थ्य, मानसिक एकाग्रता र आन्तरिक शान्ति सुनिश्चित गर्न नियमित योग अनिवार्य रहेको बताउनुभयो । उहाँले यस वर्षको नारा अनुसार स्वस्थ वृद्धावस्था र सामूहिक हितका लागि योगलाई जीवनशैलीकै रूपमा अङ्गीकार गर्न सबै सहभागीहरूसँग आग्रह गर्नुभयो ।
कार्यक्रमको समापन प्रमाणित प्रशिक्षकहरूको मार्गदर्शनमा सामूहिक योग सत्र सञ्चालन गरेर गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?