
सहारा संवाददाता–––––––––––––––
वीरगंज, २ असार ।
चितवनको भरतपुरस्थित नारायणी नदीको किनारमा योग कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा मंगलवार बिहान भारतीय महावाणिज्य दूतावास, वीरगंजको आयोजनामा योग कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा मुख्य अतिथिको रूपमा माननीय सहकारी तथा गरिबी निवारण मन्त्री सुश्री बिनु रायमाझी उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता भारतीय महावाणिज्य दूतावास, वीरगंजका महावाणिज्यदूत देवी सहाय मीना गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महावाणिज्यदूत मीनाले योगको शारीरिक, मानसिक र आध्यात्मिक महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले योग भारतको प्राचीन धरोहर भएको र हाल यो वैश्विक कल्याणको माध्यम बनेको चर्चा गर्नुभयो। साथै, योगले भारत र नेपालबीचको सदियौँ पुरानो सांस्कृतिक सम्बन्धलाई थप मजबुत र प्रगाढ बनाउन महŒवपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो।
यसैगरी मुख्य अतिथि मन्त्री रायमाझीले योगलाई स्वस्थ जीवनशैलीको मुख्य आधार मान्दै दैनिक जीवनमा यसको उपयोगिता वारे प्रष्ट पार्नुभयो। योगले तनावमुक्त समाजको निर्माण गर्न र मानिसमा सकारात्मक ऊर्जाको सञ्चार गर्न ठूलो सहयोग पु¥याउने उहाँले बताउनुभयो।
नारायणी नदीको मनोरम र प्राकृतिक वातावरणमा आयोजित उक्त कार्यक्रममा योग प्रशिक्षकहरूद्वारा सामान्य योग प्रोटोकल अनुसार विभिन्न योगासन र प्राणायामहरूको अभ्यास गराइएको थियो।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्री गणेश अर्याल, चितवनका प्रहरी उपरीक्षक (एसपी) तथा राष्ट्रिय अनुसन्धान विभाग चितवनका एसपी लगायतका उच्च पदस्थ अधिकारी, नेपाल–भारत मैत्री संघ, पतञ्जली योग समिति, उद्योग वाणिज्य संघ, आर्ट अफ लिभिङ, भूतपूर्व सैनिक संगठनका प्रतिनिधिहरू, स्थानीय सामाजिक संघ–संस्थाका पदाधिकारीहरू तथा ठूलो संख्यामा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागीता रहेको थियो।