
सहारा संवाददाता–––––––––––––––
वीरगंज, ४ असार ।
निरन्जन अग्रवालको नागरिकता मुद्दा टुंगो लागेसँगै अब राहुल अग्रवालमाथि कानूनी तीर सोझिने भएको छ ।
निरन्जन अग्रवालको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा केरमेट गरी अन्यथा अर्थ लाग्ने गरी बनाएर दुरुपयोग गरेको सम्बन्धमा राहुल अग्रवालविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा दायर सरकारी कागज किर्ते मुद्दा अब सक्रिय हुने भएको हो ।
वीरगंज महानगरपालिका तत्कालीन वडा नं. १३, हाल वडा नं. १० निवासी अजय अग्रवालका छोरा राहुल अग्रवालविरुद्ध निरन्जन अग्रवालले जिल्ला प्रहरी कार्यालय, पर्सामा दिएको जाहेरी दर्ता गर्न तत्कालीन पुनरावेदन अदालत हेटौंडाले २०७१ सालमा दर्ता गरी अनुसन्धान गर्न दिएको परमादेश अब कार्यान्वयन हुनुपर्ने जिकिर निरन्जन अग्रवालले गरेका छन् ।
राहुल अग्रवालले निरन्जन अग्रवालको लाइसेन्समा केरमेट गरी सरकारी निकाय यातायात व्यवस्था कार्यालयबाट जारी भएको लाइसेन्सभन्दा फरक अर्थ लाग्ने गरी केरमेट गरी निरन्जनको नागरिकतामाथि नैं प्रश्नचिन्ह खडा गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएर प्रताडित गरेको निरन्जन अग्रवालले बताएका छन् ।
राहुलले केरमेट गरेको र यातायात व्यवस्था कार्यालयबाट जारी लाइसेन्स सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, पर्साले जिल्ला प्रहरी कार्यालय पर्सा, परराष्ट्र मन्त्रालय सम्पर्क कार्यालय वीरगंज, भारतको महावाणिज्य दूतावास वीरगंजमार्फत समेत अनुसन्धान गराई गरेको निर्णयलाई जिल्ला अदालत पर्सा र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले सदर गरेको छ ।
राहुल अग्रवालले निरन्जनको ड्राइभिङ लाइसेन्समा केरमेट गरेको भन्ने अर्थात् सरकारी कागज किर्ते गरेको ठहर्ने निरन्जनको दावी छ । राहुल अग्रवालविरुद्ध परेको सरकारी कागज किर्ते मुद्दा दर्ता गर्न पुनरावेदन अदालत हेटौंडाले जारी गरेको आदेशको प्रति २०७१ साल असोज १२ गते जिल्ला प्रहरी कार्यालय, पर्साले बुझिलिएको प्राप्त प्रमाणबाट पुष्टि हुन्छ ।
अब जिल्ला प्रहरी कार्यालय, पर्साले के–कसो कारबाही गर्ने हो ? हेर्न बाँकी छ ।