Menu

आजको मौसम

सखुवाप्रसौनीको १७औं गाउँँसभा सम्पन्न

Author
News Desk | June 18, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३ असार ।
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँँपालिकाको १७औं गाउँँसभा अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । गाउँँसभामा विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य तथा गाउँँसभा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गाउँँपालिका उपाध्यक्ष शर्मिला विष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
गाउँँपालिका अध्यक्ष जशवन्त यादवले आगामी वर्षमा सामुदायिक विद्यालयहरूको प्रारम्भिक तहमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिने तथा प्राविधिक शिक्षालाई थप प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो। साथै, बेरोजगार युवा–युवतीलाई लक्षित गरी सीपमूलक तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरिने नीति लिइएको उहाँले जानकारी दिनुभयो।
यसैबीच, गाउँँपालिकाका लेखा प्रमुख सुमन शाहले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४६ करोड ३७ लाख ८२ हजार ५ सय २० रुपियाँँ बराबरको बजेट प्रस्तुत गर्नुभयो।
प्रस्तुत बजेटअनुसार आम्दानी तथा अनुदानका प्रमुख स्रोतहरूमा सशर्त अनुदानबाट २१ करोड १६ लाख रुपियाँँ, वित्तीय समानीकरण अनुदानबाट ११ करोड ६४ लाख ६२ हजार रुपियाँँ, राजस्व बाँडफाँटबाट ११ करोड १३ लाख २० हजार ५ सय २० रुपियाँँ, समपूरक अनुदानबाट १ करोड ४५ लाख रुपियाँँ, आन्तरिक स्रोतबाट ५३ लाख रुपियाँँ तथा विशेष अनुदानबाट ४६ लाख रुपियाँँ प्राप्त हुने अनुमान गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रशासन शाखा प्रमुख अरविन्द ठाकुरले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख विनोदप्रसाद यादवले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?