Menu

आजको मौसम

नेपाली कांग्रेस बारामा विवाद चुलियो, पार्टी कार्यालयमै दुई पक्षबीच झडप

Author
News Desk | July 22, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––––––––––––
कलैया, ०५ साउन ।
नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिमा लामो समयदेखि देखिदै आएको आन्तरिक विवाद मंगलबार झडपमा परिणत भएको छ । कलैयास्थित जिल्ला पार्टी कार्यालयमा संस्थापन पक्ष र असन्तुष्ट पक्षका कार्यकर्ताबीच भएको झडपपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन र कांग्रेसको विशेष महाधिवेशनयता चर्किदै आएको आन्तरिक विवादका बीच केन्द्रीय समितिबाट निलम्बनमा परेका जिल्ला सभापति राजेश राय यादव पक्ष र संस्थापन पक्षका कार्यकर्ताबीच विवाद उत्पन्न भएको हो ।
राजेश राय यादव निलम्बनमा परेपछि जिल्ला उपसभापति मनोज भट्टले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका छन् । भट्टले सोमबार जिल्ला कार्यालयमा नेता–कार्यकर्तासँग छलफल गर्दै साउन ७ गते सञ्चालन हुने ‘जरा अभियान’ समापन तथा बिहीबार मनाइने बीपी जयन्ती कार्यक्रमको तयारीका लागि मंगलबार बिहान ११ बजे विस्तारित बैठक बोलाएका थिए ।
उक्त बैठक चलिरहेका बेला जिल्ला महिला संघले पनि पार्टी कार्यालय परिसरमै अर्को कार्यक्रम आयोजना गरेपछि दुवै पक्षका कार्यकर्ता आमनेसामने भएका थिए । सामान्य भनाभनबाट सुरु भएको विवाद चर्किँदै झडपमा परिणत भएको जिल्ला सचिव भैयाराम यादवले जानकारी दिए ।
झडपपछि पार्टी कार्यालय परिसर केहीबेर तनावग्रस्त बनेको थियो । थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा बनाउँदै ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । झडपमा मानवीय वा भौतिक क्षति भएको विषयमा भने विस्तृत विवरण सार्वजनिक भइसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?