Menu

आजको मौसम

अनियन्त्रित मिनी ट्रक घरमा ठोक्किँदा एकको मृत्यु, चालक नियन्त्रणमा

Author
News Desk | July 21, 2026
0
Featured

कलैया, साउन ५ — बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक सोमबार मध्यराति अनियन्त्रित मिनी ट्रक घरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली मिनी ट्रक राति करिब १२:३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको हो।

दुर्घटनामा ट्रकमा सवार जितपुरसिमरा उपमहानगरपालिका–८, इमलीप्रती निवासी ४० वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याइए पनि उपचारकै क्रममा राति १२:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार दुर्घटनामा ५० वर्षीय देवनारायण चौधरी पनि घाइते भएका छन्। उनको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको छ। अवस्था मध्यम रहेको र प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै अस्थायी प्रहरी पोस्ट बसपार्क तथा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९, सिमरा भवानीपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार तीव्र गतिका कारण मिनी ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनामा ट्रकको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने स्थानीय सुरेश साह कानुको घरको एकतर्फको पर्खाल भत्किएको छ।

दुर्घटनापछि सडक यातायात भने सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?