Menu

आजको मौसम

नयाँ सोंच सहित आएका नवउद्यमीलाई प्रोत्साहन गर्ने सरकारको निती छ–मुख्यमन्त्री सिंह

Author
News Desk | November 10, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ कार्तिक ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारको “स्टार्टअप” तथा नवउद्यमीलाई प्रोत्साहन गर्ने नीति रहेको बताउनु भएको छ ।
वीरगंज स्थित होटल क्लार्कमा आयोजित “स्टार्टअप तथा नवउद्यमी सम्मेलन, मधेस प्रदेश २०२४” को उदघाटन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताउनु भयो ।
उहाले नयाँ सोच र विचार सहित आएका नवउद्यमीलाई प्रोत्साहन गर्ने खालका नीति र कार्यक्रम अघि सारेको बताउदै नेपालका अधिकांश पुरुष काम वा अध्ययनका क्रममा विदेशमा रहेकाले पनि स्टार्टअपका कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउन जरुरी देखिएको बताउनु भयो ।
मुख्यमन्त्री सिंहले स्टार्टअपमा आधारित व्यवसाय सुरु गर्दा नाफा मात्र नभई घाटा पनि हुने बताउदै स्टार्टअप सुरु गर्नेबित्तिकै सफलता हात पार्न सकिन्छ भन्ने हुँदैन, स्टार्टअप गर्दा भएका गल्ती र कमजोरीबाट सिकेर अघि बढ्नसके मात्र अपेक्षाकृत नतिजा हात पार्न सकिने भन्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश स्टार्टअप समिति, मधेस सरकार र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित स्टार्टअप तथा नवउद्यमी सम्मेलन, मधेस प्रदेश २०२४ मा मधेस प्रदेश उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ अन्सारीले स्टार्टअप व्यवसायकै माध्यमबाट मधेस प्रदेशको आर्थिक विकास र रोजगारी सिर्जना गर्नसक्ने बताउनुभयो ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्टार्टअपसँग सम्बन्धी नयाँ सोच र भिजन लिएर आउने युवालाई प्रोत्साहन गर्ने बताउनु भयो ।
कार्यक्रममा गुगल इन्डियाका स्टार्टअप प्रमुख अपूर्व चमरियाले स्टार्टअपको मार्केट विश्वव्यापी भएकाले सोहीअनुरुप नयाँ सोचको विकास गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका सभापतित्व समेत गर्नु भएका नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले मधेस प्रदेशमा स्टार्टअपको विकास गर्नका लागि सम्मेलन आयोजना गरेको बताउनुभयो ।
उहाले मधेस प्रदेशमा अथाहा सम्भावना रहेका छन् । ती सम्भावनालाई अवसरमा बदल्नका लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने आशा गरेको बताउदै स्टार्टअप कार्यक्रमले नयाँ सोच भएका युवा र लगानीकर्ता बीच सेतुको काम गर्ने अपेक्षा राखेको पनि बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश स्टार्टअप समितिका संयोजक अनुप अग्रवालले राज्यले स्टार्टअपका नयाँ सोच लिएर आएका युवालाई सहुलियत कर्जा र बिनाधितो ऋण प्रवाह गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा मधेस प्रदेश नीति आयोगका उपाध्यक्ष सोहन साह, महासंघका उपाध्यक्ष हेमराज ढकाल, नेपाल औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ता, वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?