Menu

आजको मौसम

सिंहदरबारमा आसीन नेताहरूका कारण देश संकटमा फसेको छ–थापा

Author
News Desk | November 13, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ कार्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सिंहदरबारमा आसीन नेताहरूका कारण देश संकटमा फसेको बताउनु भएको छ ।
राप्रपा नेपालको तराई–मधेस राष्ट्रिय सम्मेलनको निर्णय सार्वजनिक गर्न वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जेलमा बस्नुपर्ने डरले रातारात सत्ता परिवर्तन गर्दै सिंहदरबारमा आसीन भएका नेताहरूको कारण देशलाई संकटमा फस्न बाध्य बनाइएको आरोप लगाउनु भयो ।
उहाले देशको पछिल्लो अवस्थाबारे कटाक्ष गर्दै केही नेताहरूले देशलाई भ्रष्टाचारमा डुबाएको आरोप लगाउदै संघीय प्रणाली र धर्मनिरपेक्षताको नाममा अर्बौं रुपैयाको लुट मच्चाएको पनि आरोप लगाउनु भयो ।
अध्यक्ष थापाले राजतन्त्रको अन्त्य गरेर गरिबी निवारण र आर्थिक समृद्धिको नारा दिएका नेताहरू गणतन्त्रको नाममा लुटमा व्यस्त भएका छन भने देशका युवाहरु रोजगारीका लागि विदेश जान बाध्य भएको बताउनु भयो ।
उहाले सत्ता सन्तुलनको लागि कांग्रेस र एमालेबीचको गठबन्धनले देशमा भ्रष्टाचार बढाएको बताउदै संसारमा नभएको भ्रष्टाचार नेपालमा हुने गरेको दावी गर्नु भयो ।
सम्मेलनले “तराई–मधेश एकीकृत प्राधिकरण” स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरेको उहाले जानकारी दिनु भयो ।
तराई–मधेशका २१ जिल्लाका जनताको उत्थान र आर्थिकस्तरमा सुदृढीकरण गर्न एकीकृत प्राधिकरण स्थापना गर्नुपर्ने सम्मेलनले निर्णय गरेको जानकारी गराइएको छ ।
अध्यक्ष थापाले हाल तराई–मधेशको विकासका लागि नगण्य बजेट विनियोजन भइरहेको बताउदै आगामी दिनमा जनसंख्याका आधारमा बजेट विनियोजन हुनुपर्ने धारणा पनि व्यक्त गर्नु भयो ।
सम्मेलनले तराई मधेशको सांस्कृतिक विविधतालाई अझ विस्तार गर्न मैथिली, भोजपुरी, अवधि र थारु भाषाको संरक्षण र सम्वर्द्धनका लागि मातृभाषा संरक्षण आयोग गठन गर्नुपर्ने, कृषि र सिँचाइको एकीकृत योजना अघि बढाउनु पर्ने निर्णय पनि गरेको जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?