Menu

आजको मौसम

“रानी तेल” सेवनकर्ताहरू होशियार ! ज्यान जान सक्छ

Author
News Desk | December 01, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ मंसिर ।
त्रिवेणी ग्रुपको अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिले उत्पादन गरी बजारमा उपभोगकालागि पठाएको “रानी”ब्राण्डको सरसो तेल मानव स्वास्थ्यकालागि हानिकारक रहेको पाइएको छ ।
सो उद्योगले “कच्ची घानी सरसों तेल ग्रेड–१” लेखिएको रानी ब्राण्डको खाने तेल मानव स्वास्थ्यको लागि अति नै हानिकारक रहेको पाइएको हो ।
सो उद्योगले उत्पादन गरी बजारमा पठाएको रानी ब्राण्डको १ लिटरको तेलको प्याकेट जनावरको बोसो जस्तै जम्ने गरेको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागका एक प्राविधिकका अनुसार तोरी वा सरसोको तेल यदी शुद्ध हो भने कुनै पनि अवस्थामा नजम्ने हुन्छ । यदी तेल जमेको छ भने त्यसलाई खान योग्य मानिंदैन ।
ती खाने तेल सम्बन्धी अर्का एक प्राविधिकका अनुसार जनावरको बोसो का साथै कृत्रिम स्रोतबाट प्राप्त हुने अर्थात् खाद्य उद्योगमा उत्पादन गरिने औद्योगिक ट्रान्स फ्याट जसलाई पिएचओ भनिन्छ । स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ । यस्तो चिल्लो पदार्थ वनस्पति तेललाई तताएर, त्यसमा आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ । यस्तो प्रक्रियाबाट तरल अवस्थामा रहेको वनस्पति तेल कोठाको तापक्रममा बाक्लो वा ठोस पदार्थमा परिवतर्न हुन्छ । ट्रान्स फ्याट भएको तेल सामान्य ताक्रममा पनि जम्छ । उद्योगमा सस्तो तेललाई तताएर, हाइड्रोजन मिसाएर उत्पादन गरिने ट्रान्स फ्याटबाट चिल्लो पदार्थको मात्रा बढ्नुका साथै यसमा पकाएको खाने कुराले मानव शरीलाई मन्दविष जस्तै असर भई यसले रगतमा खराब कोलेस्ट्रोलको मात्रालाई बढाउँछ र असल कोलेस्ट्रोलको मात्रालाई घटाउँछ । धमनीहरुको भित्रि भागमा नकारात्मक असर पारी धमनीहरु साँघुरिने क्रमलाई बढाउँछ । रगतको थेग्रा जम्ने संभावनालाई बढाउँछ, जसले गर्दा ह्दययघात र मस्तिष्कघात हुने संभावना धेरै हुन्छ ।
रानी ब्राण्डको यस्ता जम्ने ट्रान्स फ्याटयुक्त तेलको सेवनले धमनीहरुका लागि अत्यन्तै हानिकारक हुन सक्छ । यसले युवा अवस्थामा मधुमेह, उच्च रक्तचाप, मोटोपन, महिलाहरुमा एक प्रकारको स्तनको क्यान्सरको जोखिम बढाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्षमा करिब ५ लाख ४० हजारको मृत्यु ट्रान्स फ्याटकै कारणले हो भनेर प्रमाणित भएको छ।
प्रतिष्ठित उद्योगी घराना संघाई (त्रिवेणी ग्रुपको) मातहतको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिबाट जानी जानी मानव स्वावस्थ्यमाथि प्रत्यक्ष असर पर्ने खाद्य सामग्री उत्पादन गरेर बजारमा बिक्री वितरणकालागि पठाउने कार्यले अनेक प्रश्न उब्जिएको छ ।
शुद्ध सरसो तेल भनेर रानी तेलको नाममा बोसोजस्तै जम्ने तेल उपभोक्ताहरूमाझ किन पठाउनु भएको भन्ने प्रश्नमा कम्पनीका संचालक प्रभु दयाल कन्दोईले गल्तीले त्यस्तो हुन गएको स्वीकार गरे । प्रभु दयालले लापरवाहीपूर्ण जवाफ दिंदै काम गर्दै जाँदा हुने गल्तीलाई सामान्य रुपमा लिनु पर्छ हामीबाट गल्ती भएको कुरा सम्बन्धित निकायलाई थाहा छ, त्यतै गएर बुझ्नुस् ।
ट्रान्स फ्याटयुक्त रानी तेल लाखौं लिटर बजारमा पठाएको भएपनि प्रभु दयालले हामी बजारबाट उक्त ब्याचको तेल फिर्ता लिइसकेको बताएका छन् । तर बजारमा अहिले पनि उपभोक्ताको भान्छासम्म सो तेल पुगिरहेकै समयमा यस पत्रिकाले पनि प्राप्त गरेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?