Menu

आजको मौसम

प्रदेश सरकारले बनाउने हरेक संरचना अपांगमैत्री हुन्छ–मुख्यमन्त्री सिंह

Author
News Desk | December 05, 2024
0

जनकपुर, १९ मंसिर (रासस)
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अपांगमैत्री कानुन निर्माणका लागि प्रदेश सरकारले काम गर्ने बताउनुभएको छ ।
आज जनकपुरधाममा आयोजित ३३ औँ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा राष्ट्रिय अपांग महासंघ मधेस प्रदेश तथा “डिसेवलिटी राईट्स फण्ड”को सहयोगमा अपांगता भएका मधेसी महिलाहरूको प्रथम प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै उहाँले मधेस प्रदेश सरकारले बनाउने हरेक संरचना अपांगमैत्री हुने बताउनुभएको हो ।
प्रदेश सरकारले अपांगमैत्री संरचनाको निर्माण सुरु गरिसकेको बताउँदै उहाँले हाल विभिन्न ठाउँमा बनिरहेका शौचालयमा एक/एक वटा अपांगमैत्री कक्षसहितको शौचालय बनाउन थालिएको जानकारी दिनुभयो ।
राष्ट्रिय अपांग पुनःस्थापना केन्द्र नेपाल महोत्तरीका जिल्ला अध्यक्ष वीना चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा जिल्लाका महिला अपांग गोदावरी साह, सलमा खान, राष्ट्रिय अपांग महासंघ मधेस प्रदेश प्रदेशका अध्यक्ष किरण पासवानले आफ्ना धारणा राख्नुभएको थियो ।
पछिल्लो राष्ट्रिय जनगणनाअनुसार मधेस प्रदेशका ९१ हजार सात सय १९ जना अपांगमध्ये करिब ५० प्रतिशत महिला अपांग हुने राष्ट्रिय अपांग महासंघ मधेस प्रदेशका अध्यक्ष किरण पासवानले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठन र विश्व बैंकले सन २०११ मा प्रकाशित गरेको अपांगतासम्बन्धी विश्व प्रतिवेदनअनुसार संसारको कूल जनसंख्याको १५ प्रतिशत मानिसहरू कुनै न कुनै रूपमा अफांगताको अवस्थामा बाँचिरहेका छन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यत्रम (यूएनडिपी) का अनुसार अपांगता भएका व्यक्तिहरू कूल जनसंख्याको ८० प्रतिशत विकासोन्मुख देशहरूमा छन् । विश्व बैंकका अनुसार विश्वका अति गरिब मानिसमा २० प्रतिशत अपांगता भएका व्यक्तिहरू पर्दछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?