Menu

आजको मौसम

रास्वपा पर्साको अधिवेशन प्रक्रियामा विवाद, दुई पक्षबीचको झडपमा तीनजना घाइते

Author
News Desk | June 07, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको अधिवेशन प्रक्रियामा विवाद भएको छ । शनिवार दुई पक्षबीच भएको झडपमा तीनजना घाइते भएका छन् भने एकजना पक्राउ परेका छन् ।

जिल्ला अधिवेशनका प्रतिनिधि छनोटको विषयमा पार्टीभित्र दुर्ई पक्षबीच भएको विवाद हानाहानमा परिणत हुँदा तीन जना घाइते भएका छन् भने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगंज–९ स्थित होटल गेट वे वीरगंजमा आइतवार हुने जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया चलिरहेका बेला विवाद चर्किएको थियो। असन्तुष्ट पक्षले प्रतिनिधि चयनमा एकपक्षीयता भएको आरोप लगाउँँदै अधिवेशन स्थगित गर्न माग गरेको थियो।

शनिवार दिउँसो पार्टीका सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रिय महाधिवेशन प्रतिनिधि सुधिर पटेल, क्षेत्रीय सभापति राम आर्यसहितको समूहले जिल्ला अधिवेशन स्थगितको माग गर्दै मधेस प्रदेश उपसभापति तथा निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए ।

निर्वाचन समितिले ज्ञापनपत्र प्राप्त गरेपछि करिब दुर्ई घण्टाका लागि प्रक्रिया रोकेको थियो। तर पुनः प्रक्रिया शुरू भएपछि होटल परिसरमै दुर्ई पक्षबीच विवाद बढ्दै गएर हात हालाहालको स्थिति सिर्जना भयो। प्रत्यक्षदर्शीका अनुसार केही कार्यकर्ताले एकअर्कामाथि हेल्मेटसमेत प्रहार गरेका थिए।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको थियो। त्यसपछि झडपमा संलग्न कार्यकर्ताहरू तितरबितर भएका थिए। घटनामा महादेव प्रसाद कुर्मी, गौतम श्रेष्ठ लगायत तीन जना घाइते भएका छन।

निर्वाचन समितिका संयोजक डा. नन्दन यादवले झडपपछि निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको जानकारी दिएका छन। उनका अनुसार बाँकी प्रक्रिया आइतवार बिहान ८ बजेदेखि पुनः शुरू गर्ने तयारी गरिएको छ।

पर्सामा एक गुटको नेतृत्व संस्थापक जिल्ला सभापति तथा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले गर्दै आएका छन् । उनलाई एक्ल्याउन बाँकी ३ क्षेत्रका सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य अर्काे गुट बनाएर अगाडि बढेका बताइन्छ ।

सभापति तथा सांसद हरि पन्तले भने प्रतिनिधि चयनमा आफूले कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन। उनले सम्पूर्ण प्रक्रिया पार्टीको विधान र केन्द्रीय निर्देशनअनुसार सञ्चालन गरिएको बताए ।

रास्वपा पर्साको नेतृत्वका लागि आगामी अधिवेशनमा हरि पन्त र सुशील साह कानु प्रमुख दाबेदारका रूपमा हेरिएका छन् । जिल्ला अधिवेशनको तयारीबीच भएको यो घटनाले पार्टीभित्रको आन्तरिक विवाद अझ स्पष्ट रूपमा छताछुल्ल पारेको छ ।
भिडियो हेर्नुहोस

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?