Menu

आजको मौसम

इरान दाबीबारे ट्रम्पको टिप्पणी

Author
News Desk | June 03, 2026
0
Featured

वासिङ्टन, १९ जेठ (रासस\एएनआई):
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्भावित सैन्य पराजय र त्यसपछि हुने राजनीतिक व्याख्याबारे टिप्पणी गर्दै यदि इरानले पूर्ण रूपमा आत्मसमर्पण गरे पनि अमेरिकी राजनीतिक विपक्षी र केही मिडियाले त्यसलाई उल्टै ‘इरानको विजय’ का रूपमा चित्रण गर्न सक्ने दाबी गर्नुभएको छ ।

सोमबार (स्थानीय समय) सामाजिक सञ्जालमार्फत गरिएको लामो अभिव्यक्तिमा राष्ट्रपति ट्रम्पले इरानको नौसेना र वायुसेना नष्ट भएको, सेना तेहरानबाट फिर्ता भएको र सबै सैनिकले हतियार त्याग्दै आत्मसमर्पण गरेको काल्पनिक परिदृश्य प्रस्तुत गर्नुभएको थियो । उहाँले त्यस्तो अवस्थामा समेत आलोचकहरूले घटनालाई गलत ढङ्गले व्याख्या गर्ने आरोप लगाउनुभयो ।

यदि इरानको नेतृत्वले सबै आवश्यक ‘आत्मसमर्पणका कागजात’ मा हस्ताक्षर गरी संयुक्त राज्य अमेरिकाको शक्ति स्वीकार गरे पनि डेमोक्रेट र केही मिडियाले त्यसलाई वास्तविकताभन्दा फरक रूपमा प्रस्तुत गर्ने सम्भावना रहने उहाँको भनाइ छ ।

उहाँले आफ्नो पोस्टमा लामो विवरण दिँदै इरानको सम्पूर्ण सैन्य संरचना समाप्त भएको, सेना पछि हटेको र युद्धमैदानमा पूर्ण हार स्वीकार गरिएको अवस्थालाई उदाहरणका रूपमा उल्लेख गर्नुभयो । उहाँले यस्तो अवस्थामा पनि विपक्षीहरूले घटनाको अर्थ उल्ट्याउने दाबी दोहो¥याउनुभयो ।

राष्ट्रपति ट्रम्पले अमेरिकी मिडियामाथि समेत आलोचना गर्दै केही सञ्चारमाध्यमहरूले परिस्थितिलाई विकृत रूपमा प्रस्तुत गर्ने आरोप लगाउनुभयो । आलोचकहरूले स्पष्ट पराजयको अवस्थालाई समेत ‘इरानको विजय’ भनेर चित्रण गर्न सक्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

उहाँले विशेष रूपमा डेमोक्रेटहरूलाई लक्षित गर्दै उनीहरूलाई ‘डुमाक्राट्स’ भनी उल्लेख गर्नुभएको छ र उनीहरू तथा केही मिडियाले द्वन्द्वको वास्तविकता बुझ्न नसकेको आरोप लगाउनुभएको छ ।

ट्रम्पले द न्युयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल र सिएनएनलगायत मिडिया संस्थाहरूको नाम उल्लेख गर्दै ती संस्थाहरूले गलत शीर्षक राख्ने र वास्तविकताभन्दा फरक व्याख्या गर्ने दाबी गर्नुभयो । यस्ता मिडिया संस्थाहरू ‘अब अप्रासङ्गिक’ हुँदै गएको उहाँको टिप्पणी छ ।

यसैबीच, राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा जारी कूटनीतिक प्रयासप्रति आशावादी सङ्केत पनि दिनुभयो । उहाँले तेहरानसँगको युद्धविराम विस्तार गर्ने र क्षेत्रीय रणनीतिक समुद्री मार्गमार्फत ढुवानी पुनः सञ्चालन गर्ने सम्झौता ‘आगामी हप्ताभित्र’ हुन सक्ने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले एबीसी न्युजसँग कुरा गर्दै ढुवानी मार्ग पुनः सञ्चालनसम्बन्धी समझदारीपत्र (एमओयु) मा अझै केही बुँदामा अन्तिम सहमति बाँकी रहेको बताउनुभयो । “मैले अझै केही विन्दुहरू प्राप्त गर्न बाँकी छ”, उहाँको भनाइ उद्धृत गरिएको छ ।

यसअघि सोमबार नै ट्रम्पले तेहरानसँग वार्ता तीव्र गतिमा अघि बढिरहेको दाबी गर्दै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा कूटनीतिक संवाद जारी रहेको उल्लेख गर्नुभएको थियो ।

तर पछिल्लो कूटनीतिक प्रयासको बीचमा पनि स्थिति अस्थिर रहेको बताइएको छ । केही हप्ताअघि स्थापित अस्थायी युद्धविराम हालैका दिनहरूमा भएका प्रतिआक्रमणका घटनाका कारण पुनः दबाबमा परेको छ । अमेरिकी र इरानी सेनाबीच पछिल्ला दिनहरूमा देखिएको तनावले युद्धविराम कमजोर हुने र कूटनीतिक प्रक्रिया अवरुद्ध हुन सक्ने चिन्ता बढाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?