
सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ जेठ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सरकारले जनादेश (म्याण्डेट) लाई सम्मान गर्दै देशमा विद्यमान राष्ट्रिय समस्याहरूको समाधानका लागि छिटो र परिणाममुखी कदम चाल्नुपर्नेमा बताउनुभएको छ।
आइतवार रिपोटर्स क्लब नेपाल, पर्साको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संविधान संशोधन, सुकुम्बासी समस्या तथा किसानका समसामयिक मुद्दाहरूलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका यादवले वर्तमान संविधानमा रहेका त्रुटि र कमजोरीहरूलाई सच्याउन संविधान संशोधन अपरिहार्य रहेको धारणा राख्नुभयो। मधेशी, आदिवासी जनजाति, दलित, महिला तथा सीमान्तकृत समुदायका अधिकारलाई पूर्ण रूपमा सुनिश्चित गर्न संविधान परिमार्जन आवश्यक रहेको उहाँको भनाइ थियो।
सुकुम्बासी समस्याको विषयमा बोल्दै उहाँले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको स्थायी व्यवस्थापनका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो। यस्तै, किसानहरूले अझै पनि समयमा मल, बीउ, सिंचाइ सुविधा र आफ्नो उत्पादनको उचित मूल्य नपाएको उल्लेख गर्दै किसानका समस्या समाधान नगरी देश आर्थिक रूपमा समृद्ध हुन नसक्ने धारणा व्यक्त गर्नुभयो।
किसानका समस्या समाधान नगरी देश आर्थिक रूपमा समृद्ध हुन सक्दैन। सरकारले किसानका लागि विशेष राहत तथा दीर्घकालीन योजना ल्याउनुपर्छ,” अध्यक्ष यादवले भन्नुभयो।
उहाँले बढ्दो महँगीका कारण आम नागरिक प्रभावित भएको र उद्योग–व्यापार विस्तार हुनुको सट्टा खुम्चिँदै जाँदा रोजगारीका अवसरसमेत गुम्दै गएको बताउनुभयो।
कार्यक्रममा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल तथा मधेश प्रदेशका पूर्वमन्त्री रमेश पटेलको उपस्थिति रहेको थियो।
रिपोटर्स क्लब नेपाल, पर्सा शाखाका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा जसपा नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचिव रितेश कुमार गुप्ता लगायतको सहभागीता थियो ।