
सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साको मतदान प्रक्रिया बेलुका साढे सात बजेपछि शुरु भएको निर्वाचन कमिटीले जनाएको छ ।
९ सदस्यीय जिल्ला समिति र चारवटा क्षेत्रको सात सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित गर्नको लागि मतदानको कार्यतालिका रहेकोमा क्षेत्र नं. १, ३ र ४ को समिति निर्वाचनको लागि मतदान भएको हो ।
मतदान अघि क्षेत्र नं. २ को संयोजकमा फैयाज मियाँ, उपसंयोजक (क) शान्ति पौडेल ढकाल, उपसंयोजक (ख)मा किशोर यादव, सचिवमा किशन साह, सदस्यहरुमा प्रमोद उपाध्याय र विजय यादव लगायतको समिति निर्विरोध निर्वाचित भएको जानकारी प्राप्त भएको छ । यद्यपि यसको आधिकारिक विवरण चुनावको अन्तिम नतिजा आएपछि प्रकाशित गर्ने बुझिएको छ।
कुल ३२७ प्रतिनिधि रहेको निर्वाचनमा पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्त, पर्सा क्ष्Fेत्र नं. २ का सुशील साह कानूको प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
जिल्ला समितिको सभापतिमा पन्त र कानूको उम्मेदवारी परेको छ भने उपसभापतिमा दिलीपकुमार कुर्मी, रन्जीत श्रीवास्तव, सचिवमा सुधीश कुमार प्रजापति, शिवकुमार साह, सहसचिवमा कृष्ण पासवान, निरज साह, सदस्यहरुमा नवीनकुमार सोनार, प्रियंकाकुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, समिर अन्सारी, युवराजकुमार पटेल, कामोध्याय चौधरी, सुरेशप्रसाद यादव, महमूद अन्सारी, तुलसा पौडेल अधिकारी, मातृका थापा, शेख जमसेद आलम, शशिदेवी थरुनीलगायत रहेका निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनमा पर्सा क्षेत्र नं. २, ३ र ४ का सांसदहरु एकातर्फ देखिएका छन् भने संस्थापन पक्ष पर्सा १ का सांसद अर्कोतर्फ देखिएको छ । अबेर रातिसम्म चुनावी नतीजा आउने अनुमान गरिएको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको भोलि (जेठ २६ गते) आयोजना हुने तय भएको प्रथम जिल्ला अधिवेशन स्थगित गरिएको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले आज जारी गरेको ‘अत्यन्त जरूरी सूचना’ मार्पत विविध अपरिहार्य कारणवश अर्काे सूचना जारी नभएसम्मका लागि अधिवेशनसँग सम्बन्धीत सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको जनाएको हो।
यसअघि रास्वपा बाराले जेठ २६ गते बिहान १० बजे निजगढ नगरपालिका–८ स्थित शुभकार्य बैंक्वेटमा पार्टीको प्रथम जिल्ला अधिवेशन आयोजना गर्ने तयारी पूरा गरिसकेको थियो। अधिवेशनका लागि निमन्त्रणा पत्रसमेत सार्वजनिक गरिएको थियो भने पार्टीका नेता–कार्यकर्ता तथा समर्थकमाझ उत्साह देखिएको थियो।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सी. द्वारा हस्ताक्षरित सूचनामा जिल्ला सदस्यहरू, पार्टी पंक्ति तथा सरोकारवालाहरूलाई अधिवेशन स्थगित भएको जानकारी गराइएको छ। साथै, अधिवेशन पुनः सञ्चालन हुने मिति, समय र बाँकी प्रक्रियावारे आधिकारिक जानकारी पछि सार्वजनिक गरिने उल्लेख गरिएको छ।
“सुशासन, समृद्धि र परिवर्तनको यात्रा” भन्ने नारासहित पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा आयोजना हुन लागेको अधिवेशन स्थगित भएपछि अब नयाँ मिति कहिले तय हुन्छ भन्ने विषयमा जिल्ला भरि चासो बढेको छ।
केन्द्रीय निर्वाचन आयोगले आगामी कार्यतालिकासम्बन्धी थप निर्देशन नआएसम्म प्रतीक्षा गर्न सबै सम्बन्धीत पक्षलाई आग्रह गरेको छ।