
सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ जेठ ।
वीरगंजको घण्टाघरचौकमा शनिवार क्रियाशील युवा पत्रकार मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरेका छन्।
मञ्चका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेललगायतको उपस्थिति रहेको थियो।
वक्ताहरूले रक्तदानलाई मानव सेवाको उत्कृष्ट कार्य भएको उल्लेख गर्दै नियमित रक्तदान अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले युवाहरूलाई सामाजिक उत्तरदायित्वबोधका साथ रक्तदानमा सहभागी हुन आग्रह गरेका थिए।
यसैगरी संगालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औं स्थापना दिवसको अवसरमा शनिवार बाराको सिमरास्थित विकासशील चोकमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् ।
संस्थाका अध्यक्ष निराजन थापाको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा धनञ्जय थोकर, रमेश थापा, विष्णु सापकोटा, श्याम सुवेदी, कृष्ण तिमिल्सिना, नेत्र दाहाल, विनोद अधिकारी, दीपक कार्की, राजदास श्रेष्ठ, सन्तोष श्रेष्ठ, सुशिला कार्की, सुरेन्द्र थापा, राजेश पुन, निरोज पुडासैनी, मनोज अधिकारी, अर्पणा ढकाल, सरोज लामा, राजकुमार थापा, नरेन्द्र तामाङ, बिजय राउत, बासुदेव अधिकारीलगायतले रगत दान गरेका थिए ।
कार्यक्रमलाई रक्तसञ्चार केन्द्र, वीरगंज तथा नेपाल रेडक्रस सोसाइटी, वीरगंजले प्राविधिक सहयोग पुर्याएको थियो ।