Menu

आजको मौसम

ब्राउन सुगरसहित भारतीय र नेपाली युवक पक्राउ

Author
News Desk | June 05, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ जेठ ।
लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन) सहित दुईजना युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
बारा जिल्लाको विश्रामपुर गाउँपालिकाबाट प्रहरीले भारतको मोतिहारी जिल्ला हरपुर पञ्चायत वडा नं. ६ बस्ने ब्रह्मदेव साहका २१ वर्षीय छोरा राकेश कुमार साह र पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ६ सन्ठी गाउँँ बस्ने राम मगिज्ञाका २० वर्षीय छोरा अजित मगिज्ञालाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।
विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय प्रसौनी बारा, लागुऔषध ब्युरो कार्यालय वीरगंज (पर्सा) र इलाका प्रहरी कार्यालय छतवा बाराको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जेठ २१ गते बिहीवार दिउँसो करिब ४ः०० बजेको समयमा विश्रामपुर गाउँँपालिका वडा नं. २ बरैनिया बजारस्थित लागुऔषध ब्राउन सुगर बिक्री वितरण गरिरहेको अवस्थामा दुवै जनालाई रङ्गेहात समातिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले शङ्का लागेर उनीहरूको शरीर खानतलासी गर्दा राकेश कुमार साहले लगाएको कालो हाफ पेन्टभित्र लुकाई छिपाई राखेको अवस्थामा १७ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो ।
प्रहरीले उक्त लागुऔषध (सेतो प्लास्टिकसहित), उनीहरूले प्रयोग गरेको भारतीय नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकल र डिजिटल नापतौल मेसिन समेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) मिन बहादुर घलेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?